काठमाडौं - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने भएको छ ।
रास्वपाले उपसभामुख पदमा विपक्षी कुन दललाई सहयोग गर्ला भन्ने चर्चाबीच सो पार्टीले राप्रपालाई सघाउने भएको हो ।
रास्वपा सभापति रवि लामिछानेले आज राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई फोन सम्पर्क गरी उपसभामुख सहयोग गर्ने वचन दिएको शाहीले पुष्टि गरेका छन् । ‘रास्वपा सभापति रवि लामिछानेजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ,’ शाहीले भने ।
रास्वपा उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते सभामुखमा निर्विरोध निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा अरु दलका महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
संविधानतस् सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
उपसभामुखमा एमालेबाहेकका दलले दाबी गरेका छन् । तर संसदको अंकगणितले रास्वपाले जसलाई समर्थन गर्यो उसैले उपसभामुख पाउनछ । सोहि अनुसार उपसभामुखमा बनाउन रास्वपाले राप्रपालाई सहयोग गर्ने भएको हो ।

.gif)


