काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । गेलले २९ बलमा ५१ रन बनाए । मन्दिप ६६ रनमा अविजित रहे । यस्तै कप्तान केएल राहुलले २८ रन बनाए ।

कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ विकेट लिए । यस अघि ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।

यस्तै, लक्की फर्गुसन २४ रनमा अविजित रहे । पन्जाबका मोहमद शामी, रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए । ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए । जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।

कोलकाता भने पाँचौं स्थानमा झरेको छ । कोलकाताले पनि १२ खेलमा १२ अंक नै जोडेको छ ।