काठमाडौं,धनगढी - गत शनिबार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् ।

घटनामा संलग्न रहेको भन्दै २० वर्षिय रोहित रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसअघि मंगलबार हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरिएको थियो । जसमा धनगढी–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय राम गोपाल राना थिए ।

हत्यामा अन्य केहि व्यक्ति संलग्न रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुले नेपालबाट भारत केराउ तस्करी गर्ने क्रममा अवरोध पुर्याएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

शनिबार राति बा ५८प ५२८४ नम्बरको मोटरसाइकल गस्तीमा हिँडेका असई विक र साउँदको हत्या गरि उनीहरुले मोहना नदीमा फालेका थिए । बेपत्ता भएका साउँदको शव मंगलबार भेटिएको हो भने असई गोविन्द विकको शव आइतबार मोहना नदीको किनारामा भेटिएको थियो ।