एजेन्सी - प्रिमियर लिगको विजेता बनेको लिभरपुलले म्यानचेष्टर सिटीसँग लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डे ब्रुएना र फिल फोडेनले एक/एक गोल गरे ।

खेलको २५औं मिनेटमा डे ब्रुएनाले पेनाल्टीबाट गोल गर्दै सिटीलाई घरेलु मैदानमा अग्रता दिलाए । यो सिजन उनले ११ गोल गर्नका साथै १७ वटा गोलको अवसर सिर्जना गरेका छन् ।

३५ औँ मिनेटमा स्टर्लिङले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले तेस्रो गोल थपे ।दोस्रो हाफमा एलेक्स ओक्सालेड च्याम्बर्लिनले आत्मघाती गोल गरेपछि सिटीले सहज जित हासिल गर्न सफल रह्यो ।

लिभरपुलले सात खेल बाँकी छँदै ३० वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जितेको थियो । च्याम्पियन लिभरपुललाई सिटीले खेलअघि एतिहाड स्टेडियममा गार्ड अफ अनरको सम्मान दिएको थियो ।

हारपछि पनि लिभरपुलले सिटीभन्दा अझै २० अंक धेरै जोडेको छ । ३२ खेलबाट लिभरपुलको ८६ अंक छ भने सिटीको ६६ अंक छ ।