काठमाडौं - चीनको हुबेई प्रान्तबाट शुरू भएको कोरोना भाइरस (कोभिड-१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।

नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिए।

हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उनले स्पष्ट पारे। पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौं जना सङ्क्रमित भइसकेका छन्।दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ । नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन्।

आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उनले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिए। दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट पारे । 

गोरखापत्र दैनिकबाट