काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न दक्षिण एसियाका तीन राष्ट्रले सार्क आपतकालीन कोषमा सहायता घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क)का लागि आपतकालीन सहायता कोष स्थापना गरेका हुन् ।

मोदीको नेतृत्वमा भएको भिडियो कन्फरेन्सपछि मोदीको प्रस्तावमा १० मिलियन अमेरिकी डलर राख्ने घोषणा भएको थियो । उनको घोषणापछि प्र्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ आपतकालीन कोषका लागि १० करोड रुपैयाँ सहायता दिने घोषणा गरेका छन् ।

त्यस्तै, भुटानका प्र्रधानमन्त्री लोत्से छिरिङले आपतकालीन कोषमा १ लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् । माल्दिभ्सका प्रधानमन्त्री इब्राहिम मोहम्मद सोलीले २ लाख अमेरिकी डलर सहायता दिने घोषणा गरेका छन् 

मोदीले गत २ चैतमा कोरोना संक्रमणबाट सिर्जित परिस्थितिको सामना गर्नेबारे दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरूबीच भिडियो कन्फरेन्सको संयोजन गरेका थिए । सोही कन्फरेन्समा उनले कोभिड–१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव गर्दै त्यसमा भारत सरकारले १ करोड डलर प्रदान गर्ने घोषणासमेत गरेका थिए ।

के हो सार्क आपतकालीन कोष ?

कोरोना भाइरस (कोभिड–१९)विरुद्ध जुध्नका लागि सार्कका ८ राष्ट्रका निम्ति खोलिएको कोष हो । यो कोषले विपत्तिमा परेको राष्ट्रलाई आपतकालीन कोषबाट सहयोग प्रदान गर्ने गर्दछ । सार्क मुलुकहरूमा पनि कोरोना भाइरस संक्रमण देखिएपछि मोदीको नेतृत्वमा भएको सार्क भिडियो कन्फरेन्समार्फत आपतकालीन कोष स्थापना गरिएको हो ।

सार्क राष्ट्रमा मात्रै १० जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट बंगलादेशमा २, भारतमा ५ र पाकिस्तानमा तीन जनाको मृत्यु भइसकेको छ । सो भाइरसको संक्रमण भारत, पाकिस्तान, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, माल्दिभ्समा देखिइसकेको छ । सो भाइरसबाट विश्वभर ११ हजार ८ सय ३० जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसबाट २ लाख ८३ हजार ९ सय ९० जना संक्रमित भइसेका छन् । 

राजधानी दैनिकबाट