काठमाडौं - केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।

अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन’ अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् । बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३०, लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदूरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 राजधानी दैनिकबाट