काठमाडौं – घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाडौं महानगरपालिका बस्दै आएका २८ वर्षीय सुमन खड्का रहेका छन् ।

खड्काले बालिकालाई विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि उनले काठमाडौंमा विभिन्न स्थानमा बालिकामाथि पटक–पटक यौनशोषण गर्दै आइरहेका थिए ।

मोहन परियारले दिएको जाहेरीको आधारमा उच्च अदालत पाटनले २०७१ साल कार्तिक १० गते खड्कालाई ४ वर्ष ५ महिना एक दिन कैदको सजाय सुनाएको थियो ।

तर, उनी त्यसयता फरार भएका थिए । केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले खड्कालाई गत भदौ ८ गते काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले व्युरोले जानकारी दिएको छ ।