काठमाडौं - त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यले पाएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह (बालेन)ले बज्राचार्यलाई कार्यवाहक जिम्मेवारी प्रदान गरेका हुन् ।

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. दीपक अर्यालले राजीनामा दिएका थिए । त्यसपछि शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पनि पद त्याग गरेका थिए।

त्रिविका उपकुलपति अर्यालले राजीनामा दिएपछि विश्वविद्यालय उपकुलपति विहिन बनेको थियो ।

त्रिविको नियम अनुसार उपकुलपति पद रिक्त भएको खण्डमा तीन महिनासम्मका लागि रेक्टरलाई उपकुलपतिको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । 

सोहिअनुसार बज्राचार्यलाई अर्को व्यवस्था नहुँदासम्मको लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसैबीच विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ ।