काठमाडौं - चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा ९८७ शव फेला परेका हुन्।
सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मानव अंगसहित ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८, नुवाकोटमा ९५ र रसुवामा २७ शव फेला परेको प्राधिकरणले जनाएको छ।
बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयका कर्मचारीसमेत रहेका छन्।
सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक छन्। यस्तै, विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली नागरिकसमेत अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। बाढीमा परी घाइते हुनेको संख्या २७९ पुगेको छ। घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
भदौ १० गते बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
उद्धार तथा राहत कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

.gif)


