काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नु परेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेको आफू पक्षिय भेला डाकेर चियापान समारोह गरेका ओलीले यस्तो बताएका हुन् ।

‘भेटघाट पनि नभएको र विचार आदान प्रदान पनि हुन नपाएकोले संसद् पनि ठीक ढंगले नचलेको अवस्थामा हामी भेटघाट गरौँ, हल्का जलपान गरौं, चियापन गरौं भनेर बोलाइएको हो,’ ओलीले भने, ‘नयाँ परिस्थिति उत्पन्‍न भएको छ । केही मानिसहरुले राष्ट्रिय राजनीति नै बिथोलेर असहज स्थितिमा पुर्‍याए ।’

संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको भन्दै उनले नेकपा माओवादी केन्द्रप्रति टिप्पणी गरे । ‘अब प्रतिनिधि सभा विघटनको परिस्थति पुष्टि हुने अवस्थामा छ । किनभने संसद् पहिलो दिनदेखि आफैँले चल्न नदिने आफैँ बहिस्कार गर्ने । आफैँ व्यवधान खडा गर्ने । आफै नारा लगाउन स्थिति बनेको छ,’ उनले भने, ‘पहिलो बैठकमै अध्यादेश प्रस्तुत गर्नुपर्छ । त्यो सरकारलाई दिइएन । संविधान कार्यान्वयन गर्न दिइएन । कार्यान्वय गर्न व्यवधान गरियो ।’

उनले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप पनि लगाए । ‘संविधानको कार्यान्वयप्रति सभामुखको प्रतिबद्धता रहनुपर्थ्यो । त्यो भन्दा पर भिन्‍न प्रकारका सेटिङबाट संविधानको कार्यान्वय हुन दिइएन’ ओलीले भने,‘संसदलाई कामकाजी बनाउन खोजिएको छ । निस्प्रभावी बनाउने चेष्टा भएको छ ।’