काठमाडौं,एजेन्सी - साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ले पराजित गरेको हो । 

खेलको १५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३२औं मिनेटमा  डानिलो पेरेइराले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो । ५२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई जिततर्फ अघि बढाए । 

६२ औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई खेलमा फर्काउने कोसिस गरे । ८१ औं मिनेटमा लियोनका म्याक्स्वेल कोर्नेटले गर्दै लियोनलाई ४-२ को स्थितिमा ल्याए पनि पीएसजी विजयी भयो । 

जितसँगै  शीर्षस्थानमा उक्लिएको पीएसजीको ३० खेलबाट ६३ अंक छ । दोस्रो स्थानमा रहेको लिलको समान ६३ अंक रहेपनि गोलअन्तरमा पछि छ । पराजित लियोन ६० अंक जोडेर तेस्रो स्थानमा छ ।