अन्ततः कोशी प्रहरीले समात्यो ट्रान्सफर्मर चोरी गर्ने गिरोह, २ करोडको क्षति
विराटनगर - कोशी प्रदेशका तीन प्रमुख जिल्लाहरू झापा, मोरङ र सुनसरीमा विद्युत् ट्रान्सफर्मर चोरी गर्दै हिँड्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
गत माघ महिनादेखि योजनाबद्ध रूपमा २२ वटा ट्रान्सफर्मर चोरी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् भने चोरीका सामान किन्ने ५ जना व्यापारीसमेत नियन्त्रणमा लिइएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले गिरोहविरुद्धको संयुक्त अपरेशनबारे जानकारी दिँदै चोरीका घटनाले सर्वसाधारणको दैनिक जीवन प्रभावित बनाएको उल्लेख गरे ।
“ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइबाट बञ्चित भए, सर्वसाधारण अन्धकारमा बस्न बाध्य भए,” डीआईजी कार्कीले भने, “यसले जनजीवनमा गम्भीर असर परेपछि जिल्ला प्रहरी र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष अनुसन्धान गर्दै गिरोहलाई समातेको हो ।”
मुख्य रूपमा ट्रान्सफर्मर चोरीमा संलग्न अभियुक्तहरूमा मोरङ, सुनसरी र भारतका नागरिक रहेका छन् । गत माघ १५ यता मोरङमा ८, सुनसरीमा १२ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
सो ट्रान्सफर्मर चोरीमा संलग्न भएको आरोपमा मोरङको ग्रामथान गाउँपालिका –४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरीको दुहबी नगरपालिका –३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी –२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी नगरपालिका –४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी –३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भइ हाल दुहबी –४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उक्त ट्रान्सफर्मर चोरीको सामान किनेको आरोपमा विराटनगर महानगरपालिका –३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर –६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी –३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी –२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका –४ का ३९ वर्षीय सीताराम राईलाई समेत पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान थालेको बताएको छ ।
पक्राउ परेका गिरोहले सुनसान स्थानको पहिचान गरी, बन्दोबस्तीका सामानसहित ट्रान्सफर्मर खोल्ने र त्यसमा भएको तामा, तेल र अन्य भाग बिक्री गर्दै आएको खुलेको छ ।
प्रहरीले यस गिरोहबाट करिब २ करोड रुपैयाँ बराबरका ट्रान्सफर्मर चोरी भएको जनाएको छ । प्रहरीले अभियुक्तहरूलाई चोरी, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र संगठित अपराधको अभियोगमा कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।
फेसबुक पेज Like गर्नुहोस