काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् । 

‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने बताएका हुन् । 

‘संसद पुनःस्थापनापछि ‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले पार्टी फुटाइदियो । हामीलाई टाउकोमा ड्याम्म हान्याजस्तो भएको छ ।चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जानेछाैँ ।’ प्रचण्डले कार्यकर्ताहरुसँग भने । उनले सर्वोच्चको फैसला सोच्दै नसोचेको आएकोसमेत बताए । 

फागुन २३ गते सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएर केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गरिदिएको थियो । 

साथै, चाँडै नयाँ सरकार गठन हुने उनको भनाई छ ।  ‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ, पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो ।’ प्रचण्डले भने । 

उनले आफू र माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेकोसमेत स्पष्ट पारे ।