काठमाडौं -  नेपालको प्रमुख दातृ संस्था विश्व वैंकले विदेशमा गएका नेपाली कामदारहरुले पठाउने रेमिट्यान्स यो आर्थिक वर्षमा एक खर्ब २५ अर्व घट्ने अनुमान गरेको छ । वैंकले कोरोना भाइरसको कारण त्यस्तो अवस्था सृजना भएको उल्लेख गरेको छ ।

प्रवासन र विकाससम्बन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै वैंकले वर्ष नेपालको रेमिटेन्स गत वर्षको भन्दा करिब १४ प्रतिशत अर्थात् करिब १ खर्व २५ अर्व घट्ने बताएको हो । गत आ.व वर्षमा नेपालमा वैदेशिक रोजगारीमा गएका नेपालीबाट रु. ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो आठ महीना (फागुनसम्म) मा रु. ५ खर्ब ९२ अर्ब रेमिटेन्स भित्रिएको तर चैतयता रेमिटेन्स ह्वात्तै घटेको र आउंदो ३ महिना पनि उल्लेख मात्रामा घट्ने वैंकले उल्लेख गरेको छ ।

वैंकले सन् २०२० मा संसारभरिको रेमिटेन्स २० प्रतिशत घट्ने अनुमान गरेको छ । दक्षिण एशियाली देशहरुले समग्र रुपमा २२.१ प्रतिशतको रेमिटेन्स गुमाउनेछन् । जसमा सबैभन्दा धेरै भारत र पाकिस्तानको रेमिटेन्स समान २३ प्रतिशत, बंगलादेशले २२ र श्रीलंकाले १९ प्रतिशत रेमिटेन्स गुमाउनेछन् । यद्यपि, सन् २०२१ पछि भने रेमिटेन्स फेरि वृद्धि हुने अनुमान सो वैंकले गरेको छ ।