रौतहट - रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा इन्सपेक्टरसहित तीन प्रहरी निलम्बित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौटहटले विजयराममाथि हिरासतमा सोधपुछ गर्ने क्रममा यातना दिने इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंहलाई निलम्बन गरेको हो ।

गत साउन ३१ गते जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा साउन ३२ गते विजयरामलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको र उनको मृत्यु भएको भन्दै परिवार तथा स्थानीयले विरोध गरेका थिए ।

उनीहरुलाई थप अनुसन्धान र जाँचबुझ नसकिएसम्म ६ महिनाका लागि निलम्बन गरिएको छ । हाल गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा घटनाको छानविन भइरहेको छ ।