काठमाडौं - प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकदेखि आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने कार्यसूची छ ।

बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।

गत सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए।

लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए ।

छलफल फागुन २१, २२, २३ र ३० गते तथा चैत १, २ र ४ गते हुने छ। आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०७९/०८०) समिति सभापति किरण कुमार साहले पेस गर्ने सम्भावित कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ ।