पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरुको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि यहाँ बसोबास गर्ने परिवार हर्षित बनेका छन् ।
तीन दिनसम्म आफूलाई पनि सङ्क्रमण भएको हुनसक्ने भनी त्रसित भएकामा त्यो हटेकाले सबै खुसी हुनु स्वभाविक भएको सनसिटी वेयलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतले बताए । अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ ऱ्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको थियो ।
उनका अनुसार सोसाइटीले अहिले पनि उनीहरुलाई भीडभाड नगर्न भनिरहेको छ । अहिलेसम्म तालाबन्दी (सिल) को अवस्था रहेकाले सबै जना आ–आफ्नो फ्ल्याटमा बसिरहेको उनले बताए । कोभिड–१९ को सङ्क्रमण शुरु भएदेखि नै आवश्यक सावधानी अपनाइएको बताउँदै उनले भने, “त्यसैले पनि यहाँ सङ्क्रमण नफैलिएको हो ।”
स्वास्थ्य सेवा विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र अरु ब्लकका पनि दीर्घरोगीको परीक्षण गरेको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सङ्क्रमित व्यक्तिको घरमा काम गर्दै आएका दुई जनाको भने पिसीआर प्रविधिबाट समेत परीक्षणका लागि स्वाब पठाइएको छ ।
नगर अस्पतालले सोमबार गरेको आरडिटी परीक्षणका क्रममा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएसँगै यहाँ प्रशासनले तालबन्दी गरेको थियो । ती तीनै जना व्यक्ति अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् । तीन जनामध्ये एक महिलाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि उनी अस्पतालमै छिन् ।
अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । नगर प्रमुख कृष्णहरि थापाले कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरूलाई प्राथमिकता दिइएको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस