काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन सम्बन्धमा चारवटा विकल्प प्रस्तुत गरेका छन्।

बिहीबार बिहान उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष चार विकल्प प्रस्तुत गरेका हुन्। आजबाट कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुँदैछ। बैठकअगावै आज बिहान उनले खड्कासमक्ष नियमित वा विशेष महाधिवेशनको विषयमा विकल्प दिएका हुन्।

पहिलो विकल्पमा कार्यसम्पादन समितिमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित २७-२९ मंसिरको कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्ने रहेको छ।

मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त भएको ठहर भए दोस्रो विकल्पमा मंसिर मसान्तभित्रै विशेष महाधिवेशन गर्न सकिने उनको प्रस्ताव छ। यसका लागि विधानको १७ (२) बमोजिम ‘केन्द्रीय समितिले चाहेमा’ भनेर उल्लेखित दफाबमोजिम महाधिवेशन गर्न सकिने उनको ठहर छ।

यस्तै तेस्रो विकल्पमा पनि विधानको १७ (२) बमोजिम नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने उनको धारणा छ।

तेस्रो विकल्पमा पनि सहमति नजुटेमा व्यापक युवा प्रवेशको ढोका खोल्न र विशेषभन्दा नियमित महाधिवेशन उपयुक्त ठहर गर्दै चौथो विकल्पमा जान सकिने उनको निचोड छ। चौथो विकल्पमा थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गर्ने रहेको छ। यसका लागि १६ देखि १८ पुषको मिति उपयुक्त हुने उनको ठहर छ। १६ पुष बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको मिति भएकाले महाधिवेशनका लागि उपयुक्त हुने शर्माले बताएका छन्।

यस्तो छ  विकल्प  

१) पहिलो विकल्प – कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७-२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)

(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)

२) दोस्रो विकल्प – विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम `केन्द्रीय समितिले चाहेमा´ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ।

३) तेस्रो विकल्प- विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै। (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै।

४) चौथो विकल्प- थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ। (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको ऐतिहासिक मिति)