काठमाडौं - रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण  मृत्यु हुनेहरूको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ। 

आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त सङ्ख्यामा शवहरू फेला पारिएको हो।

प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छन्।

शव पहिचान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाउँदै हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। डीएनए पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी ३ हजार २८३ नमुना संकलन गरिएको छ।

पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बाढीपछि ४ हजार ६५५ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३७२ जनालाई राखिएको प्रहरीले जनाएको छ।