काठमाडौं  - स्पेनिस ला लिगा आगामी ८ जुनबाट शुरु हुने भएको छ । कोभिड महामारीका कारण रोकिएको ला लिगा पुनःसञ्चालनको अनुमति सरकारले दिएको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले लिग आगामी ८ जुनबाट सञ्चालन गर्न अनुमति दिएका हुन् । लिगका अध्यक्ष जाभिएर टाबेसले १२ जुनबाट लिग शुरु हुने बताएका थिए ।

तर, प्रधानमन्त्री सान्चेजले चार दिन अगाडि नै लिग शुरु गर्ने अनुमति दिएका छन् । यसले लिग सञ्चालन गर्न झनै सजिलो भएको छ ।

कोभिडले महामारीका रुप लिएपछि गएको १२ मार्च देखि लिग स्थगित भएको थियो । केही खेलाडीमै संक्रमण देखिएपछि रोकिएको लिग सञ्चालन गर्न प्रधानमन्त्री सान्चेजले ग्रीन सिग्नल दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

लिगमा सवै क्लबहरुले २७ खेल खेलिसकेका छन् । लिगको शीर्ष स्थानमा बार्सिलोना छ भने रियल मड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । समान खेलबाट बार्सिलोना भन्दा रियल दुई अंकले मात्रै पछाडि छ । च्याम्पियन लिग छनोटको रेखाभित्र रहेका सेभिल्ला ४७ अंकका साथ तेस्रो र रियल सोसाइडेड ४६ अंकका साथ चौथों स्थानमा छ ।

स्पेनिस प्रधानमन्त्रीले बी डिभिजनको खेल सञ्चालनको समेत अनुमति दिएका छन् । महामारीका कारण रोकिएको लिगमा अब भने दिनहुँ प्रतियोगिता गर्नुपर्ने दबाव छ ।