काठमाडौं,एजेन्सी - कतार विश्वकप २०२२ को युरोपियन छनौटमा बेल्जियमले शानदार जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसमाथि ८–० को फराकिलो जित निकालेको हो । 

एकपक्षयी खेलमा बेल्जियमले पहिलो र दोस्रो हाफमा समान ४–४ गोल गरेको थियो । बेल्जियमको जितमा  हान्स भानकिन र लियान्द्रो ट्रोससार्डले समान दुई गोल गर्दा मिचे बात्सुयाई, जेरेमी डोकु, डेनिस प्राएट र क्रिस्टियन बेन्टेकेले समान एक गोल गरेका हुन् । 

३ खेलमा ७ अंक जोडको बेल्जियम समूह ईको शीर्ष स्थानमा छ । 

यस्तै, समूह जीमा रहेको नेदरल्यान्ड्से पनि फराकिलो जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७–० ले पराजित गरेको हो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे । यस्तै, स्टेभन वर्गहुइस, फ्रान्की डि जोङ, जर्जिन्हो वाइनाल्डम, डोनीएल मालेन र डोनी भान डि विकले समान एक गोल गरे । समूह ‘जी’ कै अर्को खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।