कैलाली कारागारमा अब ३ महिनामै सुरक्षाकर्मीको सरुवा
धनगढी - जिल्ला कारागार कैलालीमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई अब हरेक तीन–तीन महिनामा अदली–बदली गर्ने व्यवस्था मिलाइने भएको छ ।
आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो ।
बैठकले कारागार सुरक्षामा देखिएका कमजोरी र दोहोरिँदा जोखिम कम गर्न सुरक्षाकर्मीको नियमित रोटेसनलाई प्रभावकारी उपायका रूपमा अघि सारेको हो ।
हालै साउन २३ गते कारागारमा भएको भीषण झडपपछि सुरक्षा व्यवस्थामा सुधार ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न ११ निर्णयहरू गरेको छ ।
जसअन्तर्गत सुरक्षाकर्मीको अदली–बदली पनि एक महत्त्वपूर्ण कदम मानिएको छ । कारागारमा खटिने सुरक्षाकर्मीहरु कैदीबन्दीसँग मिलेको आरोप लाग्दै आएको छ ।
कारागार व्यवस्थापनले कारागारमा लामो समयदेखि एकै ठाउँमा कार्यरत सुरक्षाकर्मीका कारण आउन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।
गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र ४८ जना कैदीहरु घाइते भएका थिए । झडपमा धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो ।
४८ जना घाइतेमध्ये एक गम्भीर अवस्थाका कैदीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस