सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा
काठमाडौं - पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश गरेको छ ।
यसअघिको साविक उपविजेतासमेत रहेको सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो ।
विराटनगरका फाफ डु प्लेसिसले ३६ र मचेन्ट डे ल्याङ्गेले १५ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २ तथा हेमन्त धामी, र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो ।
सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम शीर्ष र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस