काठमाडौं,एजेन्सी - युवास्टार इर्लिङ हाल्याण्डको ह्याट्रिकमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ । हाल्याण्डको यो पहिलो अन्तराष्ट्रिय ह्याट्रिक हो ।

गएराति भएको खेलमा नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १३ औँ मिनेटमा हाल्याण्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले ३९ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको १० मिनेटपछि उनले ह्याट्रिक पुरा गरेका थिए ।

नेसन्स लिगको समूहको शीर्ष स्थानमा रहेको नर्वेले अब नर्दन आयरल्याण्डसंग खेल्नेछ ।