काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् ।

आजकाे संसद बैठकमा विनियोजन विधेयक पेश गरेपछि बाहिरिएका अर्थमन्त्री शर्माले पत्रकारसँग कुरा गर्दै प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका हुन् । 

भोलि बुधबार राति १२ बजेबाट केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट ल्याएको बजेटको ६० दिन पुग्दैछ । ६० दिनमा अध्यादेश पारित नभए स्वत निष्क्रिय हुन्छ । ओली सरकारले ल्याएको बजेट निष्क्रिय भएको र अहिले पेस भएको प्रतिस्थापन विधेयक पारित नभएकाले ५/७ दिन सरकारी खर्च रोकिने अर्थमन्त्रीको भनाइ थियो । 

अर्थमन्त्रीका शर्माका अनुसार कर उठाउने विशेष व्यवस्था हुनेछ । सरकारले अहिले ल्याएको बजेट संसदको आउँदो बैठकमा पास हुने संकेत गरेको छ । शर्माले सकभर सहमतिमै नभए प्रक्रियाअनुसार विधेयक पारित हुने बताए ।  यसका लागि वार्ता, सम्वाद, छलफल भइरहेको अर्थमन्त्रीका शर्माले बताए । अबको अर्को संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। 

गत शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए। अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै सरकारले नयाँ बजेट ल्याउने बाटो खुलेको थियो । उक्त दिन नै सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब  ८३ करोड रूपैयाँको संशोधित बजेट ल्याएको थियो । यसअघि ओली सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।