जीतको ह्याट्रिक गर्नबाट चुक्यो राजस्थान, कोलकाताको लगातार दोस्रो जीत
काठमाडौं - यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले जीत हात पारेको छ । प्रतियोगितामा दोस्रो जीत हासिल गर्ने क्रममा उसले अपराजित राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्यो ।
कोलकाताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । उसका लागि टम करानले अन्त्यतिर बनाएको ५४ रन नै सर्वाधिक योगदान रह्यो । त्यसैगरी ओपनर जस बट्लरले २१ रन बनाए । कोलकाताका शिवम मावी कमलेश नगरकोटी र वरुण चक्रवर्तीले दुई-दुई विकेट लिए भने प्याट कमिन्स, सुनिल नारायण र कुलदीप यादवले एक-एक विकेट लिए ।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कोलकाताका लागि ओपनर शुभमन गिलले ४७ रन बनाए भने इयान मोर्गानले अविजित ३४ तथा आन्द्रे रसले २४ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले दुई विकेट लिए भने अंकित राजपूत, टम करान, जयदेव उनादकट र राहुल तेवातियाले १-१ विकेट लिए ।
जीतसँगै ३ खेलबाट ४ अंक बटुलेको कोलकाता अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार ३ खेलमा जीत दर्ता गर्दै अपराजित यात्रा कायम राख्न चुकेको राजस्थान पनि समान ४ अंकसहित रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस