बराबरीमै रोकियो आर्सनल
काठमाडौं - इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल क्रिष्टल प्यालेससँग बराबरीमै रोकिएको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग २(२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँड्न पुगेको हो ।
आर्सनलका लागि डेभिड लुइज र सोक्राटिसले एक-एक गोल गरे भने क्रिष्टल प्यालेसका लागि लुका मिलिभोजेभिक र जोर्डन आयुले गोल गरेका थिए ।
खेलको सातौं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै नवौं मिनेटमा लुइजको गोलबाट आर्सनलले २-० को अग्रता बनायो ।
तर खेलको ३२ औं मिनेटमा मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काउने कोसिस गरे । पहिलो हाफसम्म २-१ को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा अग्रता कायमै राख्न सकेन ।
५२ औं मिनेटमा जोर्डन आयुले गोल गर्दै क्रिष्टललाई २(२ गोलको बराबरीमा फर्काए । बाँकी समयमा गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे ।
यो बराबरीसँगै आर्सनलले १० खेलबाट १६ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । त्यस्तै १५ अंक जोडेको क्रिष्टल तालिकाको छैटौं स्थानमा छ । त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ३(१ गोल अन्तरले पराजित गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस