काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी छ ।

यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।

परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।