‘प्रधानमन्त्री पदका लागि दौरासुरूवालमा आइरन गरिहाल्ने बेला भएको छैन’
काठमाडौं - नेपाली कांग्रेसले नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा सांसद संख्या र अन्य दलहरूभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले नेतृत्वका लागि धारणा तय नगरेको प्रतिक्रिया दिएका हुन्।
उनले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएकोसमेत स्पष्ट पारे। यद्यपि, परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनको भनाई छ ।
‘जसलाई सत्ता चलाउन म्यान्डेट दिएको हो त्यो म्यान्डेट खण्डित भइसकेको अवस्था छ। सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो। अहिले त्यो गठबन्धन पनि भत्कियो र जनताले दिएको त्यो म्यान्डेट पनि खण्डित भइसक्यो। अहिले उहाँहरूले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था विल्कुलै छैन। त्यसैले नेपाली कांग्रेस पार्टीलाई पहिले प्रतिपक्षी बसेको थियो। अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौं। तर अब गणितीय रूपमा नेपाली कांग्रेस पार्टीले जबसम्म परिस्थिति सिंगो सिंगै दलहरू रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनिकन नेपाली कांग्रेस पार्टी प्रधानमन्त्री पदका लागि दौरासुरूवालमा आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं।’ शर्माले भने ।
विहीबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने बताए।
‘प्रदेश १ र बाग्मति प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा कतिपय साथीहरुले चाँडै निर्णय गरिहालौं भन्नुभयो। निश्चिय नै अविश्वासको प्रस्तावको पक्षमा हामी मत दिन्थ्यौं होला। तर त्यसबेला हामीले निर्णय गर्ने हतारो गरेको भएरु आखिर अविश्वासको प्रस्ताव त विधिवतरुपमा गएन। त्यसैले अहिले प्रचण्डले नेतृत्व गर्नुभएको पार्टी जो सँग रहेको गणित पनि माधवजीहरु त फरक गु्रपमा हुनुहुन्छ र यतापट्टि जसपासँग रहेको गणित, त्यो गणित सम्पूर्ण रुपमा संगठित भएर नै नयाँ समिकरणको सन्र्दभमा पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छैनौं। त्यसैले त्यो नभइसकेको अवस्थामा हामीले संवाद नै नगरेको, छलफल नै नगरेको, नेतृत्व लिनेतर्फ अलिकति रुची नै नराखेको र उदासिनता नै राखेको भन्ने चाहीँ होइन।’ उनले भने ।
फेसबुक पेज Like गर्नुहोस