विश्वासको प्रस्तावमा जसपाको मत विभाजनः ठाकुर तटस्थ, यादव विपक्षीमा
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत लिने प्रस्तावमा आफूहरु तटस्थ बस्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको प्रष्ट पारेका हुन् । राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने उनको माग छ ।
‘हामी विश्वासको मत लिने प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन’ उनले भने, ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले ।’
यस्तै, बैठकलाई सम्बोधन गर्दै जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने आफूहरु विश्वासको मतको विपक्षीमा रहेको बताएका छन् । सरकारले आफ्ना माग पूरा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने उनको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस