कोटेश्वरमा माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष प्रचण्ड पुगेका हुन् ।
स्रोतका अनुसार प्रचण्ड र नेपालबीच झण्डै एक घण्टा भेटवार्ता भएपछि कोटेश्वरबाट बाहिरिएका छन् । भेटवार्तामा के-के विषयमा छलफल भयो भन्नेबारे खुलेको छैन । सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा हिजो छलफल गर्ने भनिएपनि समय व्यवस्तताका कारण आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेको स्रोतको दाबी छ ।
प्रचण्ड फर्किएलगत्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका बताइएको छ ।
नेता नेपालसहित उनका पक्षका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। सोमबार बसेको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले पार्टी विधिविधान र निर्णयलाई फ्लोरक्रस गरेको भन्दै उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दै छ।
फेसबुक पेज Like गर्नुहोस