काठमाडौं, एजेन्सी - ब्राजिलियन फरवार्ड नेयमारको ह्याट्रिकमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार स्थगित भएको खेलमा इस्तानबुल बसाकसेइरलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

मंगलबार खेल संचालन गर्ने रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो ।

अघिल्लो दिन १५ मिनेटमा गोलरहित रहेको अवस्थाबाट नै खेल सुरु भएको थियो । खेल सुरु हुनुअघि दुवै टोलीका सदस्य र अफिसियलले मैदानको बीच भागमा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाएका थिए ।

पुन: १५ औं मिनेटमा इस्तानबुलले फ्रिकिक लिएर सुरु भएको खेलमा पीएसजीले २१ औं मिनेटमा नै अग्रता लियो । नेयमारले मार्को भेराट्टीको पासमा गोल गरे ।

३७ औं मिनेटमा पीएसजीका लागि नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एम्बाप्पेको पासलाई गोलमा परिणत गरेका थिए । ४२ औं मिनेटमा एम्बाप्पे आफैंले गोल गर्दै पहिलो हाफमा नै पिएसजीलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५० औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरे । एन्जल डी मारियाको पासमा ब्राजिलियन नेयमारले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ५७ औं मिनेटमा मेहमेत टोपालले इस्तानबुलका लागि गोल फर्काए । तर त्यसको ५ मिनेट नबित्दै नेयमारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पिएसजीले पेनाल्टी पायो । उक्त पेनाल्टीमा गोल गर्दै एम्बापपेले ५-१ को आरामदायी अवस्थामा पुर्याए । यस जितसँगै पिएसजी समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।