काठमाडौं - चेल्सी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र आर्सनलले सेफिल्ड युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।

चेल्सीले लेस्टर सिटीलाई १-० ले पराजित गर्यो । लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा चेल्सीका लागि बार्कलेले .६३ औं मिनेटमा निर्णाक गोल गरे । जुन जितका लागि पर्याप्त भयो ।

बाँकी दुवै टिमले धेरै अवसर पाएपनि गोल हुन सकेन ।अर्को खेलमा आर्सनलले सेफिल्डलाई २-१ ले पराजित गरेको छ ।

खेलमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता दिलाएका थिए । आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरी भएको थियो । तर इन्जुरी टाइममा सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।यसअघि नै म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।