काठमाडौं - नेपाल र अष्ट्रेलियाबीच काठमाडौंमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौंमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नहुने भएको हो ।

फिफाले छनोट चरणका खेलहरु सक्ने अवधि थप गरेपछि सो मितिमा खेल नहुने भएको हो । सो खेल आउँदो जुन महिनामा हुने भएको छ । फिफाले हालै मे ३१ देखि जुन १५ सम्ममा छनोट चरणका खेलहरु सक्ने निर्णय गरेको थियो । 

यसअघि कोरोना महामारीकैबीचमा पनि काठमाडौँ फुटबल खेल्ने निर्णय गरेको अष्ट्रेलियन टोलीले आगामी दिनमा फेरि तालिका तय गरी खेल्ने योजना बनाएको फुटबल अष्ट्रेलियाका कार्यकारी जेम्स जोनसले जानकारी दिएका छन् ।

यसअघि नेपाल र अष्ट्रेलियाबीच क्यानबेरास्थित जियो रंगशालामा सन् २०१९ को अक्टोबर १० मा भएको खेलमा अष्ट्रेलिया ५–० गोलले विजयी भएको थियो ।

समूह ‘बी’ मा रहेको अष्ट्रेलिया समूहको शीर्ष स्थानमा छ । ४ खेल खेलेको अष्ट्रेलियाले सबै खेलमा जित हासिल गरेर १२ अंक जोडेको छ । ५ खेल खेलेको कुवेत तथा जोर्डको समान १०–१० अंक छ भने नेपालले पनि ५ खेल खेल्दा १ खेलमा जित तथा ४ खेलमा हार व्यहोरेर ३ अंक जोडेको छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो ।