काठमाडौं - प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाको कामलाई सरकारले तीव्रता दिएको बताएका छन् ।

प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जालमार्फत पछिल्लो विवरण सार्वजनिक गर्दै हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३७९ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । उनका अनुसार अझै ३ हजार ९२५ जना सम्पर्कविहीन छन्। उद्धार गरी अस्पताल भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी घाइतेको उपचार भइरहेको छ।

प्रधानमन्त्री शाहका अनुसार रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा राहत वितरणका लागि २७ वटा वितरण केन्द्र सञ्चालनमा छन्। ती केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ प्रभावित नागरिकसम्म राहत सामग्री पुर्‍याइएको छ।

बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाको कामलाई पनि सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीबाट क्षतिग्रस्त विद्युत् तथा सञ्चार संरचना मर्मत गरी सेवा पुनःस्थापनाको कामसमेत तीव्र रूपमा भइरहेको छ।

प्रधानमन्त्रीका अनुसार हालसम्म रसुवामा करिब ३० प्रतिशत, नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ। सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० वटा टावर र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

बाढीले पुलहरू भत्काएपछि अवरुद्ध सडक सञ्चालनमा ल्याउन सरकारले तीन स्थानमा बेलिब्रिज राख्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहका अनुसार देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइरहेको छ। यसका लागि भारत र चीनबाट थप बेलिब्रिज प्राप्त हुने क्रममा रहेको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको पुनःस्थापनाका लागि क्षतिको विवरण संकलन सुरु भइसकेको बताएका छन्। पुनःस्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने कामसमेत अघि बढाइएको उनको भनाइ छ।

उनका अनुसार प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको छ । त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको उनको भनाइ छ ।

उनले भने, 'हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरुले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ। उहाँहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो।'

विपद्को कठिन समयमा खोज तथा उद्धार, उपचार, राहत र व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी संस्था तथा आम नागरिकप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गरेका छन्।