दुर्गा प्रसाईंका समर्थकहरुले गरे सिफलमा प्रदर्शन
काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् ।
भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं आज विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न सिफल पुगेका हुन् ।
व्यवसायी प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौंको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् ।
कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ ।
प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।
आज शनिबार पनि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन।

.gif)




फेसबुक पेज Like गर्नुहोस