काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले १५/२० दिनपछि संसद खुल्ने बताएका छन् ।

काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाको २५औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरे । उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने जिकिर गरे । सरकारले जारी गरेको अध्यादेश अबको १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भने,‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन् । १५-२० दिनभित्र संसद् आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं र अगाडि बढाउँछौं ।’

उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै विकासको काम अघि बढाउने र जनताको सेवागर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए।