पोखरा-चिनियाँ राजदूत छन सोङले भूकम्पपीडितको राहतका लागि सहयोग सामग्री नेपाललाई हस्तान्तरण गरेका छन् ।

राजदूत सोङले आज पोखरा विमानस्थलमा उक्त राहत समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए ।

यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ । विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो।

उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे।