काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार घाइते भएका छन् । कप दि फ्रेन्चको खेल दौरान काइनमाथि १–० को जित निकालेको खेलमा नेयमारले चोट बोकेका थिए ।

प्रारम्भिक परिक्षणमा नेयमार कम्तीमा पनि एक महिना मैदान बाहिर रहने बुझिएको छ । चोट बोकेपछि उनलाई ६०औं मिनेटमा केलियन एमबाप्पेले प्रतिस्थापन गरेका थिए । यससँगै नेयमारले च्याम्पियन्स लिगको बार्सिलोनाविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल गुमाउने भएको छ ।

दोस्रो लेगसम्म उनी फिट हुने अपेक्षा गरिएको छ । यसबीचमा नेयमारले बार्सिलोनासँगै कम्तीमा चार खेल गुमाउने पक्का भएको छ । पहिलो लेगको खेल १६ फेब्रुअरीमा बार्सिलोनाको घरेलु मैदानमा हुदैछ । दोस्रो लेग ११ मार्चमा पीएसजीको मैदानमा हुनेछ । चोट लागेपछि मैदानमा ढलेका नेयमारले असहज अनुभव गरेका थिए ।

उनी मैदानमा लगातार रोइरहेका थिए । कहिलेकाही मेरो खेल शैलीको कारण मलाई असहज महसुस हुन्छ । किनभने म ड्रिबल गर्दैछु, लगातार हमला गरिरहन्छु । मलाई थाहा छैन । समस्या मेरो हो या म मैदानमा के गर्छु, यसले मलाई दुखी तुल्याउछ ।’ नेयमारले भने, ‘मलाई एक खेलाडी, प्रशिक्षक र कमेन्टकर्ताबाट केही कुरा सुन्न पाउदा म साह्रै दुखी हुन्छु । म यो कति समय पनि लिन सक्दिन म फुटबल खेल्दा खुशी बन्न चहान्छु ।’

२९ वर्षीय नेयमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । त्यसपछि उनी बार्सिलोना फर्कने मनासयमा पुगेपनि पछिल्लो समय उनले पीएसजीमै बस्ने चाहना राखेका छन् ।