काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । 

सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन भयो’, बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले भने । 

प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन् । ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन् । 

सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो । माधव नेपालसहित कारवाही गरिसकेका १४ जनाले संसदमा वैधानिकता नपाउने जिकिर गर्दै आएको एमालेले बैठकमा उनीहरुलाईसमेत बोलाएको भन्दै बहिस्कार गरेकाे हाे । त्यही विषयलाई लिएर संसद् बैठकमा एमालेका सांसद्ले निरन्तर अवरोध जनाएपछि सभामुखले आजका लागि सर्वदलीय बैठक बोलाएका थिए ।  

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए ।