काठमाडौं - राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागिएको छ ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
आजको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैर–जिम्मेवारीपनका कारण देश ठुलो दुर्घटनातर्फ धकेलिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
आफ्नो गृह जिल्ला सिरहाको अवस्था पनि भयावह रहेको बताउँदै सांसद कर्णले भने–‘घर सम्झिन्छु, चारैतिर रगत बगिरहेको छ। काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ । भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौँ घाइते छन्। यस्तो पीडामा प्राविधिक विषयमा बोल्ने मेरो इच्छा छैन।’
कर्णले देवानगञ्जको घटनाबारे सरकारलाई एक महिना अगाडिदेखि जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले चासो नदिएको आरोप लगाए ।
प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नचाहेको र गृहमन्त्री साना कुरामा लोकप्रियता खोज्न अस्पताल पुग्ने तर गम्भीर समस्यामा उदासीन रहेको आरोप कर्णको थियो ।

.gif)


