ट्याक्सी सेवा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन
काठमाडौं - संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समिति बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा सरकारलाई निर्देशन दिएको हो ।
‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ काइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी)ले तयार पारेका मापदण्ड पूरा गरी सरकारले लकडाउनको अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ’, समितिको निर्णयमा भनिएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि रोजगारी गुमाएका ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, बैंकको किस्ता तिर्न समस्या भएको लगायतका गुनासो राख्दै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस