काठमाडौं - प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेनहममाथि ३–१ गोलको जित निकालेको हो ।

खेलको ४०औँ मिनेटमा सन हुगन्ज मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम रहन सकेन । ५७औँ मिेनटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्र्काए । ७९औ मिनेटमा इडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई २-१को अग्रता दिलाए । त्यसपछि खेलको इन्ज्युरी समयमा मासन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई ३-१को पूनरागमन जित दिलाए । 

जितसँगै लिगको दोस्रो स्थानमा रहेको युनाइटेडले ३१ खेलमा  ६३ अंक जोडेको छ ।  शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७४ अंक छ । पराजित टोटेनहम ४९ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

यस्तै, लिगकै अर्को खेलमा आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । आर्सनल ३१ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने पराजित सेफिल्ड १४ अंक जोडेर पुछारमा रहेको छ । 

अर्को खेलमा  वेस्ट ह्याम युनाइटेडले लेस्टर सिटीलाई ३–२ ले स्तब्ध पारेको छ । वेस्ट ह्याम ३१ खेलबाट ५५ अंक जोडेर चौथो स्थानमा उक्लदा पराजति लेस्टर ५६ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।