काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नहुने बताएका छन्। गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन्।

नेता कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा १०० सिटमा उम्मेदवारी दिनुपर्ने बताए। पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको कोइरालाको भनाइ छ।

कोइरालाले ८०–८५ सिटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने भन्दै सो सिटको लागि सहमति गरिए उल्टै पार्टीमा विद्रोह हुने चेतावनी दिएका छन्। त्यस्तै, २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने उनले स्पष्ट पारेका छन्।