काठमाडौं - थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।  प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्न लागेको हो ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली टोली मैदानमा उत्रनेछ । फाइनलमा पुग्नको लागि नेपालले आजको खेलमा जित या बराबरी अनिवार्य निकाल्नुपर्ने हुन्छ । बंगलादेशले भने यसअघि फाइनलमा स्थान बनाइसकेको छ । 

नेपालले पहिलो खेलमा किर्गिस्तानसग बराबरी खेलेको थियो  । बंगलादेशले भने पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो । नेपाल र बंगलादेशबीच हुने राउन्ड रोविन लिगको नतिजाले फाइनल पुग्ने टोलीको तय लाग्नेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।

‘हेड टु हेड’ मा भने बंगलादेशभन्दा नेपाल धेरै पछि छ । यसअघि नेपाल र बंगलादेशबीच २१ खेल भएका छन् । जसमा बंगलादेशले १२ खेल जितेको थियो । नेपाल ६ खेलमा विजयी भएको छ भने ३ खेल बराबरीमा टुंगिएको थियो ।