लाइसेन्सको अनलाइन फाराम भर्न प्राविधिक समस्या
काठमाडौं - चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।
यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि र्ममत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दश महिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो ।
विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै सोमबार यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराएका छन्। चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए ।
यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भर्याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताए । कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८१५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्रलिन अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस