प्रधानमन्त्री ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
भोलिदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइदैछ । १५ वटा हिमाली जिल्लामा भने ५५ वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई पनि भोलिदेखि नै खोप लगाइने छ ।
भोलिदेखी लगाइने खोप पनि नेपालमा यस अघि प्रयोग भैरहेको भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा भोलि तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ ।
काठमाण्डौमा भएको खोप सम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोलि कोरोना खोप नेपाल आइपुग्ने जनाकारी दिनुभएको हो । कोभ्याक्स सुविधा अन्तर्गत आउने खोप पनि कोभिशिल्ड खोप नै हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस