काठमाडौं - महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी उमेश लम्साललाई छानविनका लागि भन्दै इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटनामा छानबिनका लागि लम्साललाई रानीपोखरी बोलाइएको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए ।

बुधबार साँझ ड्युटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कुटपिट गरेका थिए ।

नेपाल चिकित्सक संघले पनि आज एक विज्ञप्ति प्रकाशित गर्दै लाठीचार्ज र कुटपिटको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी संघले दिएको छ ।

केही दिनअघि सरकारले कोरोना संक्रमणको उपचारमा सग्लन चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने भनेपनि त्यस विपरित कुटपिटको घटना भएको भन्दै आपत्ति समेत जनाएको छ ।