काठमाडौं - फिफा विश्वकपको समूह चरणअन्तर्गत दोस्रो खेलमा जर्मनीले आइभरीकोस्टलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

क्यानडामा सम्पन्न रोमाञ्चक खेलमा पछाडिबाट उत्कृष्ट पुनरागमन गर्दै जर्मनीले समूहको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको हो।

खेलको पहिलो हाफमा आइभरीकोस्टले अग्रता लिएको थियो। फ्र्यांक केइसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याएका थिए। पहिलो हाफभर जर्मनी बराबरी गोलका लागि संघर्षरत रह्यो।

तर दोस्रो हाफमा जर्मनीले खेलको लय बदल्यो। डेनिज उन्दाभले ६७औँ मिनेटमा बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै जर्मनीलाई २–१ को रोमाञ्चक जित दिलाए।

पहिलो खेलमा क्युरासाओलाई ७–१ ले हराएको जर्मनीले दोस्रो खेलबाट पनि तीन अंक जोड्दै शतप्रतिशत नतिजासहित ६ अंक बनाएको छ। लगातार दोस्रो जितसँगै जर्मनी समूहको शीर्षस्थानमा उक्लिएको छ।

यता, पहिलो खेलमा इक्वेडरलाई १–० ले पराजित गरेको आइभरीकोस्टले उत्कृष्ट सुरुआतलाई निरन्तरता दिन नसक्दा प्रतियोगितामा पहिलो हार बेहोरेको छ।